फुटबलमा नेपालको शानदार सुरुवात, भुटान ४-० गोल अन्तरले पराजित

फुटबलमा नेपालको शानदार सुरुवात, भुटान ४-० गोल अन्तरले पराजित

कप्तान सुजल श्रेष्ठको दुई गोलप्रेरित नेपालले १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत मंगलबार भएको खेलमा भुटानलाई ४-० को नतिजामा पराजित गरेको छ।

झण्डै पाँच वर्षपछि दशरथ रंगशालामा उत्रिएको नेपालले खेलको पाँचौँ मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए। पहिलो हाफमा एक गोलले पछि परेको भुटानले दोस्रो हाफमा थप तीन गोल खायो। 

५१औं मिनेटमा सुजलले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाएका थिए। त्यसको १५ नबित्दै अविसेक रिजालले नेपालका लागि तेस्रो गोल गरेका थिए। 

७८औं मिनेटमा मिक्छेन तामाङले फ्रि-किकमार्फत गरेको प्रहार सोझै गोलमा परिणत हुँदा नेपालले सहज जित सुनिश्चित गर्‍याे।

राउन्ड रोबिन लिग पद्दतिमा जारी प्रतियोगिताको पहिलो चरणबाट शीर्ष दुई टोलीले फाइनल खेल्ने छन्।

साविक स्वर्ण पदक विजेता नेपालले आफ्नो दोस्रो खेलमा बुधबार श्रीलंकासँग खेल्ने छ। पहिलो खेलमा माल्दिभ्ससँग गोलरहित बराबरी खेलेको श्रीलंका भोलि साँझ ५ बजे नेपालविरुद्ध पहिलो जितको खोजीमा हुनेछ।