सामाजिक विकास मन्त्रालयले सञ्चालन गरेका स्वास्थ्य शिबिरहरुमा आर्थिक अनियमितता

सामाजिक विकास मन्त्रालयले सञ्चालन गरेका स्वास्थ्य शिबिरहरुमा आर्थिक अनियमितता

धनगढी : बिभिन्न खरीदहरुमा आर्थिक अनियमितता भएको भन्दै अख्तियारमा मुद्धा परिरहेको सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले गत आर्थिक बर्षमा बिभिन्न जिल्लामा सञ्चालन गरेका स्वास्थ्य शिबिरमा पनि आर्थिक अनियमितता भएको भेटिएको छ । 

मन्त्रालयले सुदूरपश्चिम प्रदेशका पहाडि जिल्लाहरुमा स्वास्थ्य शिबिर आयोजना गर्दा औषधी, यातायात, बास तथा खाना खर्चका बिलहरु राखेर आर्थिक अनियमितता गरिएको छ । मन्त्रालयले गत आर्थिक बर्षमा बाजुरामा दुई स्थानमा र अन्य पहाडी जिल्लामा एक एक स्थानमा स्वास्थ्य उपचार शिबिर आयोजना गरेको थियो । 

स्वास्थ्य शिबिरमा प्रयोग भएको औषधीको खरीदको परिमाण अस्वाभाविक छ । मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले उपलब्ध गराएको तथ्य अनुसार मन्त्रालयले स्वास्थ्य शिबिरका लागि भन्दै धनगढीको यसोदा फार्मेसीबाट २८ लाख २२ हजार ७ सय ७३ रुपैयाको औषधी बिभिन्न मितिमा खरीद भएको छ । तर स्वास्थ्य शिबिरका लागि नै भनेर प्रदेश स्वास्थ्य आपुर्ति तथा ब्यवस्थापन केन्द्रबाट सबै शिबिरका लागि भनेर झण्डै १० लाख बराबरको औषधी निशुल्क लगिएको छ । 

मन्त्रालयका जनस्वास्थ्य अधिकृत रमेश कुँवरले आपुर्ति केन्द्रलाई पत्र लेखि ति औषधीहरु शिबिरका लागि मगाएको आपुर्ति केन्द्रमा रहेको पत्रले पुष्टि गर्छ । मन्त्रालयमा कार्यरत जनस्वास्थ्य अधिकृत कुँवरले आपुर्ति केन्द्रबाट मगाएको १० हजार ट्याब्लेट सिटामोल, १ हजार बोतल सिटामोल सिरप, ५ हजार ट्याब्लेट ब्रोफिन, ५ हजार ट्याब्लेट एजिथ्रोमेसिन, पाँच हजार ट्याब्लेट मेट्रो, एक हजार थान, मेट्रो झोल, १० हजार ट्याब्लेट सिप्रो, ३ हजार ट्याब्लेट ड्रग्सी, ४ हजार ट्याब्लेट कोट्रिन, १० हजार ट्याब्लेट एमोक्सी, ३ हजार ट्याब्लेट सिटिआर, पाँच हजार ट्याब्लेट एसीलक, र ५ सय ट्याब्लेट हायोसिन  माग गरेको र सोही अनुसार को औषधी आपुर्ति केन्द्रले मन्त्राmलयलाई उपलब्ध गराएको आपुर्ति केन्द्रले जानकारी दिएको छ । सो औषधी मन्त्रालयमा आपुर्ति केन्द्रका तर्फबाट दाखिला भएको छ । 

मन्त्रालयले स्वास्थ्य शिबिर सञ्चालनका लागि ७० लाख रुपैया बजेट बिनियोजन गरेकोमा ६९ लाख ९४ हजार ९ सय ५० खर्च भएको विवरण मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले उपलब्ध गराएका छन् । औषधीमा खर्च गरिएको भनिएको २८ लाख २२ हजार बाहेक अन्य रकम के मा खर्च गरियो भन्ने स्पष्ट जानकारी मन्त्रालयले दिएन । 

सबै स्वास्थ्य शिबिरहरुमा भएको खर्च सहितको विवरण माग्न धनगढी खबर संवाददाता मन्त्रालय पुग्दा सूचना अधिकारी खड्काले हाललाई यति मात्रै सूचना दिनु भन्ने निमित्त सचिव झंकर बिष्टबाट आदेश आएकोले खोजे अनुसार विवरण उपलब्ध गराउन नसकिने जानकारी दिए । 

सबै स्वास्थ्य शिबिरका लागि औषधी खरीद गरेको भन्दै बिल पेश गरिएको छ । तर बाजुराको मार्तडीमा आयोजित स्वास्थ्य शिबिरका लागि बडिमालिका नगरपालिकाले २ लाखको औषधी किनेको र शिबिरमा उपचारका लागि पगेको स्वास्थ्यकर्मीको टोलीका लागि होटल बासको ब्यवस्था सहित जम्मा साढे तीन लाख रुपैया खर्च गरिएको नगर प्रमुख पदम बडुवालले जानकारी दिनुभयो । मार्तडीमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वास्थ्यकर्मीको टोली समेत सो शिबिरका लागि परिचालित गरिएको थियो । 

जिल्लामा जुन स्थानीय तहमा शिबिर आयोजना भएको हो सोही स्थानीय तहलाई स्थानीय स्तरमा बसोबास तथा खानाका लागि ब्यवस्था गर्न लगाइएको छ । तर सबै स्थानमा खाना, बस्न र यातायात बाफत गाडी रिजर्भ गरेको भन्दै बिल पेश गरिएको छ । स्रोतका अनुसार सबै स्थानीय तहमा यातायातका लागि सरकारी गाडीहरु प्रयोग गरिएका थिए । 

सबै जिल्लामा आयोजना गरिएका स्वास्थ्य शिबिर सामाजिक विका मन्त्री कृष्णराज सुवेदीले उद्घाटन गरेका हुन् । मन्त्री आएको भन्दै खाना र बासको खर्च सबै जिल्लाका जिल्ला स्वास्थ्य कार्यालयबाट तिर्न लगाइएको समेत स्रोतले जानकारी दिएको छ । मन्त्रालयले गत आर्थिक बर्षमा बाजुराको मार्तडी र कोल्टी, अछामको रामारोशन, डोटीको जोरायल, बझाङको तलकोट, बैतडीको पुर्चौडी हाट,  र दार्चुलाको मार्मा मा स्वास्थय शिबिर सञ्चालन गरेको थियो ।